नेपाल टेलिकम दुरसञ्चार कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका–११ स्थित जाल्पा माध्यमिक विद्यालयलाई करिब १२ लाख रुपैयाँ बराबरको कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार आयोजित विशेष कार्यक्रममा विद्यालयलाई १२ थान कम्प्युटर, माउस, सीपीयू, किबोर्ड र एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो ।
नेपाल टेलिकम ओखलढुंगाका प्रमुख राजु रानाका अनुसार टेलिकमको केन्द्रीय कार्यालयले यस वर्ष देशभरका ४० विद्यालयलाई १२–१२ लाख बराबरका सूचना तथा सञ्चार प्रविधि (आईसीटी)का उपकरण वितरण गरेको हो । ओखलढुंगामा जल्पा माविलाई सामाग्री सहयोग गरिएको रानाले बताए ।
विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले प्राप्त उपकरणले शिक्षण–सिकाइलाई प्रविधिमैत्री बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै नेपाल टेलिकमप्रति आभार व्यक्त गरेका छन् । नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै आइसीटीको पहुँच नपुगेका विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया