कृषि प्राविधिक शशी शेखले आफ्नो जन्मदिन यसपटक फरक तरिकाले मनाएका छन् । फजुल खर्च र भाेजकाे साटो उनले विद्यार्थीको खुशीमा आफ्नो खुशी बाँडेका छन् ।
सुनकोशी गाउँपालिका–७ स्थित प्रबुद्ध माध्यमिक विद्यालय च्यानममा विगत छ वर्षदेखि कार्यरत शेखले जन्मदिनको अवसरमा चम्पादेवी आधारभूत विद्यालय सुनकोशी–९ ककनीका ११० विद्यार्थीलाई दिवा खाजा (खिर) खुवाए ।
सुनकोशी गाउँपालिका शिक्षा विकास तथा खेलकुद शाखाका प्रमुख विवेक तामाङको उपस्थितिमा शेखले सोही विद्यालयका छात्र–छात्रा समूहलाई दुई थान भलिबल उपहार दिएका छन् ।
त्यसैगरी, जगत जननी माध्यमिक विद्यालय मानेडाँडालाई आवश्यक शैक्षिक सामग्री खरिदका लागि नगद पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । “फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा विद्यार्थीलाई शैक्षिक सामग्री दिएर उनीहरूको पढाइमा सहयोग गर्न पाउँदा खुशी लाग्छ,” शेखले बताए ।
विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गर्दै आएका उनी सर्लाहीका स्थायी बासिन्दा हुन् । शेखको यो कार्यले जन्मदिनलाई अर्थपूर्ण बनाउन सकिने एउटा प्रेरणादायी उदाहरण दिएको छ ।

प्रतिक्रिया