ओखलढुंगा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ‘लिजा’ २०८०/८१ मा सिद्धिचरण नगरपालिका जिल्लामा पहिलो भएको छ । नगरपालिकाले १०० मध्ये ८५ अंक प्राप्त गर्दै जिल्लाका आठ स्थानीय तह मध्ये अग्रस्थान हासिल गरेको हो ।
भदौ ६ गते सार्वजनिक गरिएको अन्तिम नतिजा अनुसार, जिल्लामा एक मात्र नगरपालिकाको रूपमा रहेको सिद्धिचरण नगरले शासकीय व्यवस्था, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय प्रणाली, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सहकार्य–समन्वयजस्ता १० सूचक क्षेत्रका मूल्यांकनमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
जिल्लाका गाउँपालिकामध्ये लिखु गाउँपालिकाले ७९.५० अंकसहित दोस्रो स्थान पाएको छ । ७६.७५ अंक ल्याएर चिशंखुगढी गाउँपालिका तेस्रो भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले ७६ अंकसहित चौथो स्थान हासिल गरेको छ । यस्तै, चम्पादेवीले ७२.५०, सुनकोशीले ६७.५० र खिजिदेम्बाले ६१.७५ अंक पाएका छन् । मोलुङ गाउँपालिका भने ६०.७५ अंकसहित अन्तिममा परेको छ ।
लिजा कार्यविधि अनुसार, मूल्यांकनको उद्देश्य स्थानीय तहको क्षमता, सुशासन र विकासको अवस्था मापन गर्नु, कमजोरी पहिचान गर्नु र तुलनायोग्य सूचकका आधारमा प्रतिस्पर्धात्मक सुधारका लागि प्रेरित गर्नु हो । यसका लागि १० विषय क्षेत्र र विभिन्न सूचक निर्धारण गरिएका छन्, जसले वार्षिक समीक्षाको आधार पनि तयार गर्छ ।

प्रतिक्रिया