ओखलढुंगामा लागुऔषधको जोखिम बढ्दै, दुई युवक पक्राउ

भिजन समाचार
54
Shares

ओखलढुंगामा पछिल्ला दिनमा युवाबीच लागुऔषधको प्रयोग र ओसारपसारको जोखिम बढ्दै गएको छ । यसै क्रममा प्रहरीले प्रतिबन्धित औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

बुधबार साँझ सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले सिद्धिचरण नगरपालिका–१२ का २६ वर्षीय सागर केसी र वडा नं. ९ का २६ वर्षीय चुलेन्द्र खड्कालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ‘ट्रामाडोल–५०’ लेखिएको १० पत्तामा ९१ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मानेभन्ज्याङको केतुकेबाट ओखलढुंगातर्फ आउँदै गरेका उनीहरुले मोटरसाइकलमा लुकाईछिपाई प्रतिबन्धित औषध ल्याएका थिए ।

विगत केही वर्षदेखि जिल्ला सदरमुकाममा लागुऔषधको प्रयोग गर्ने युवाहरुको संख्या बढ्दै गएको आशंका रहँदै आएको र त्यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी र सक्रियता बढाएको थियो ।

पक्राउ परेका दुवैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।