नयाँ भवन बनेको दुई वर्षपछि महिला कैदीबन्दी राख्ने तयारी

भिजन समाचार
50
Shares

ओखलढुंगाको जिल्ला कारागारमा महिला कैदीबन्दीका लागि नयाँ भवन बनेको दुई वर्ष भयाे । निर्माण सम्पन्न भएको दुई वर्षपछि नयाँ भवनमा महिला कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

२०८० असारमा ५० लाख ४५ हजार ७१३ रुपैयाँ खर्च गरेर नयाँ भवन बनेको थियो । तर वरिपरि सुरक्षा पर्खाल नबन्दा भवन प्रयोगमा आउन सकेको थिएन । गत आर्थिक वर्षमा कारागार व्यवस्था विभागले पर्खाल निर्माण तथा मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

निमित्त जेलर लेखनाथ दाहालका अनुसार सो बजेटमध्ये २८ लाख ५० हजार ९१९ रुपैयाँ ६१ पैसामा पर्खाल निर्माण र आवश्यक मर्मत सम्पन्न भएको छ । बाँकी २१ लाख ४९ हजार ८१ रुपैयाँ खर्च नभई फिर्ता भएको उनले बताए । नवनिर्मित पर्खालकाे सुरक्षा निकाय र जनप्रतिनिधीले अनुगमन गरेका छन् ।

अलइनवान निर्माण कम्पनी दोलखासँग २०८१ मंसिर १७ गते पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो । २०८२ साउनको तेस्रो सातासम्ममा पर्खाल निर्माण र मर्मत कार्य पूरा भएपछि महिला कैदीबन्दीलाई नयाँ भवनमा सार्ने तयारी भइरहेको दाहालले जानकारी दिए ।

महिला कैदीबन्दीलाई नयाँ भवनमा सारेपछि पुरानो स्थानमा पुरुष कैदीबन्दीलाई राखिनेछ । हाल कारागारमा सात महिला र ७० पुरुष कैदीबन्दी छन् । कारागारको क्षमता महिला १५ र पुरुष १५ गरी जम्मा ३० जनाको मात्र हो ।

क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा खाना, सुत्ने ठाउँ, शौचालय, खानेपानी र सरसफाइमा समस्या हुने गरेको छ । नयाँ भवन सञ्चालनमा आएपछि केही हदसम्म सहज हुने अपेक्षा गरिएको छ । पुरानो भवन भने जीर्ण अवस्थामा पुगेको छ । त्यहाँ ७० जना पुरुष कैदीबन्दी छन् ।