सूचना कार्यान्वयनमा स्थानियतह चुपचाप, प्रशासन र पत्रकारबीच संवाद

भिजन समाचार
228
Shares

ओखलढुंगा । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा प्रशासन र सञ्चारकर्मीबीच सूचना आदानप्रदानबारे गहन छलफल भए पनि गाउँपालिकाका सूचना अधिकारी भने अनुपस्थित रहे ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सार्वजनिक सूचना माग्ने अधिकारलाई निर्वाध रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले सुशासन र समृद्धिको आधार नै सूचना प्रवाह भएको उल्लेख गर्दै “गोप्य राख्नुपर्ने कानुनी व्यवस्था बाहेकका सबै सूचना सार्वजनिक हुनैपर्छ” भने ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलले जनताले सूचना माग्दा ढिलासुस्ती गर्ने प्रचलन तोड्न आग्रह गर्दै, कानुनले तोकेअनुसार सूचना दिनु नै प्रत्येक कार्यालयको बाध्यता भएको स्पष्ट पारे ।

पत्रकार र सूचना अधिकारीबीचको प्रत्यक्ष छलफलले सूचना पाउने अधिकारलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता उजागर भए पनि, गाउँपालिकाका सूचना अधिकारी सहभागी नभएको विषयले प्रश्न खडा गरेको छ । नागरिकले पाउने सूचनाको हक कार्यन्वय प्रती जनताकै नजिकको सरकार गम्भीर छैन भन्ने देखाएको छ । प्रशासनका अनुसार आमन्त्रण गर्दा पनि कुनै गाउँपालिकाबाट सहभागिता नदेखिनु सूचनाको हक कार्यान्वयनप्रति स्थानीय तहको प्रतिबद्धता कस्तो छ भन्ने प्रश्न उठाएको छ ।

जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । नेपालको संविधानको धारा २७ ले सुनिश्चित गरेको ‘सूचनाको हक’ सम्बन्धी ऐन २०६४ लागू भएको दिन (भदौ ३ गते)लाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रूपमा मनाइँदै आएको छ ।