ओखलढुंगा । सहयोगी हातहरूको समूह (सहास) नेपालले सिद्धिचरण नगरपालिकामा लिफ्ट परियोजनाका लागि ५७ लाख बढी खर्च गर्दैछ । नगरपालिकाको ७ वटा वडामा परियोजना संचालन गर्न लागेको हो । नगरपालिकाको १२ वडा मध्ये ५ वडामा यस अघिनै परियोजना संचालन भईसकेका छन् ।
वडा नं. ४, ५, ७, ८, १०, ११ र १२ मा परियोजना विस्तार गरिएको वरिष्ठ परियोजना अधिकृत देसिन्द्र राईले बताए । कार्यक्रम मार्फत १ हजार ५७५ घरधुरी प्रत्यक्ष र ९९५ घरधुरी विभिन्न सञ्जाल संस्था मार्फत लाभान्वित हुने राईले जानकारी दिए ।
परियोजना अन्तर्गत कृषि उत्पादन वृद्धि, उद्यमशीलता प्रवद्र्धन, हरित उद्यम विकास, स्वास्थ्य तथा पोषण सुधार, जलवायु अनुकूलन प्रविधि र भौतिक पूर्वाधार निर्माणमा लयातका क्षेत्रमा काम गरिने अधिकृत राईले बताए । विपन्न, दलित, महिला, फरक क्षमता भएका व्यक्ति र साना किसान यस कार्यक्रमको प्राथमिकतामा पर्नेछन् ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाललाई परियोजना बारे अधिकृत राई र सहास नेपालको केन्द्रीय कार्यालयका जलवायु न्याय तथा विपद् व्यवस्थापन शाखा प्रमुख विनोद थापाले जानकारी गराएका छन् । अघिल्लो चरण अन्तर्गत परियोजना संचालन गरिएका वडाका कार्यक्रम प्रभावकारी भएको मेयर खनालको प्रतिक्रिया छ । परियाेजना आगामी सन् २०२८ सम्म संचालन हुनेछ ।

प्रतिक्रिया