ओखलढुंगामा एक वर्षको अवधिमा विभिन्न विपदजन्य घटनाबाट झण्डै चार करोड बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आगलागी, पहिरो, बाढी, चट्याङ, हावाहुरी र भूकम्पजस्ता विपद्का २१५ घटना दर्ता भएका छन् ।
उक्त अवधिमा विपदबाट तीन करोड ९१ लाख ४४ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको हो । सबैभन्दा धेरै क्षति आगलागीबाट भएको छ । आगलागीले मात्रै दुई करोड २९ लाख नौँ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको छ । सबैभन्दा कम क्षति भूकम्पबाट सात हजार पाँच सय रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ ।
जिल्लामा विपदका कारण १६८ घर, ९१ गोठ र अन्य ५७ संरचना भौतिक रुपमा क्षति भएका छन् । मानवीय क्षतिमा सात जना घाइते र एक जनाको मृत्यु भएको छ । चौपाया क्षतिमा ५७ वटा चौपाया मरेका छन् भने २१ घाइते भएका छन् ।
घर तथा वनमा आगलागी, पहिरो र अविरल वर्षाका कारण अधिकांश विपदजन्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया