तीज आउन केही दिन बाँकी छ । हिजो आज तीजको अवसरमा दर खाने कार्यक्रम महिनौ अघि देखी हुन थाल्छन् । तर ओखलढुंगाको महिलाहरुले दर खाने खर्चले अपाङ्गता भएकालाई सहयोग गरेका छन् ।
सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानमा अशक्त अपाङ्गता परिवारलाई सहयोग गरिएको छ । महिला सुरक्षा जालो समूहले सोमबार आठ जना अशक्त अपाङ्गताको परिवारलाई लत्ताकपडा, सरसफाइका सामग्री र फलफूल वितरण गरिएको हो । तीजको अवसरमा जालोले नगरका मेयर तेजेन्द्र खनालको उपस्थितिमा सामाग्री वितरण गरेको हो ।
सो अवसरमा नारायणस्थानका छ जना पुरुष र दुई जना महिला गरि आठ जनालाई करिब २० हजार रुपैयाँ बराबरका सामाग्री वितरण गरेको महिला सुरक्षा जालोकी सदस्य विमला धमलाले जानकारी दिइन् ।
तिजमा दर खाने खर्च कतौती गरेर अपाङ्गता परिवारलाई आवश्यक सामाग्री सहयोग गरिएको धमलाको भनाई छ । आगामी दिनमा अन्य पालिकामा पनि यस किसिमका सामाजिक सहयोग कार्यक्रम गर्ने योजना रहेको महिला सुरक्षा जालो समूहले जनाएको छ ।

प्रतिक्रिया