जोखिम न्यूनिकरण र समन्वय मजबुत बनाउन प्रतिकार्य योजना पारित

भिजन समाचार
44
Shares

ओखलढुंगामा विपद् जोखिम कम गर्ने र आकस्मिक प्रकोपमा तत्काल प्रतिकार्य सहज बनाउन जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ पारित गरिएको छ ।

शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्राविधिक समितिबाट तयार पारिएको सो योजनालाई सर्वसम्मतिले स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गरेका थिए ।

प्रशासकीय अधिकृत अनुप पौडेलका अनुसार योजनाले विपद् जोखिम र संकटको पहिचान मापन तथा विश्लेषण गर्न मद्दत गर्नेछ । यसमार्फत उच्च जोखिमयुक्त स्थान र समुदायको सूची तयार हुने र विपद्जन्य घटनामा राहत, उद्धार तथा पुनःस्थापनामा संलग्न हुने निकायबीच स्पष्ट कार्यविभाजन र समन्वय सुनिश्चित हुने विश्वास गरिएको छ ।

योजना लागू भएपछि सूचना प्रणालीमार्फत तथ्याङ्क संकलन र अभिलेखीकरण प्रभावकारी हुने, उपलब्ध स्रोत–साधनको सूची तयार हुने र सम्भावित क्षति न्यूनिकरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित निकायका प्रतिनिधि उपस्थित थिए ।