ओखलढुंगामा होटल म्यानेजमेन्ट विषयको औपचारिक पढाइ सुरु

भिजन समाचार
206
Shares

ओखलढुंगामा होटल म्यानेजमेन्ट विषयको औपचारिक पढाइ सुरु भएपछि विद्यार्थीहरूको आकर्षण बढेको छ । जिल्ला सदरमुकाममा रहेको लालीगुँरास इङ्लिस स्कुलसँगको सहकार्यमा सञ्चालित ग्यालेक्सी स्कुल अफ होटल म्यानेजमेन्टमा पहिलो चरणमै ५७ जना विद्यार्थी भर्ना भएका छन् ।

भर्ना भएका विद्यार्थीलाई सम्मान गर्दै शुक्रबार औपचारिक रूपमा स्वागत गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले होटल म्यानेजमेन्ट विश्वव्यापी रोजगारीका लागि सम्भावनापूर्ण क्षेत्र रहेको भन्दै विद्यार्थीहरूलाई व्यवहारिक अध्ययनमा सक्रिय हुन आग्रह गरेका छन् ।

यस्तै, ग्यालेक्सी स्कुल अफ होटल म्यानेजमेन्टका सिइओ कुमार दाहालले ओखलढुंगासहित देश–विदेशमा पर्यटनको सम्भावना भएकोले होटल म्यानेजमेन्ट क्षेत्रमा विद्यार्थीहरूको भविष्य उज्वल हुने बताए । उनले भर्ना भएका विद्यार्थीहरूलाई हाल निशुल्क पढाइको व्यवस्था रहेको र अध्ययन पछि स्वदेश तथा विदेशमा रोजगारीको अवसर उपलब्ध हुने जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिका मेयर तेजन खनाल लगायतका अतिथिहरूले लालीगुँरास इङ्लिस स्कुलले जिल्लामा शिक्षा क्षेत्रमा योगदान रहेको उल्लेख गर्दै जिल्लामै होटल म्यानेजमेन्टको पढाइ सुरु हुनु अवसर र सुविधाको रूपमा रहेको बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त यस स्कुलले विद्यार्थीलाई कक्षा अध्यापनसँगै व्यावहारिक तालिममा विशेष ध्यान दिने जनाएको छ । विद्यार्थीहरूले खाना पकाउने सीप, रूम म्यानेजमेन्ट, ग्राहक सेवा तथा होटल उद्योगका विभिन्न पक्षमा प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।