शिक्षकलाईनै हस्तलेखन तालिम

भिजन समाचार
42
Shares

विद्यार्थीलाई राम्रो लेखाइ सिकाउने उद्देश्यले शिक्षकलाई नै हस्तलेखन तालिम दिईएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का सामुदायिक विद्यालयका शिक्षकहरुलाई तीन दिने हस्तलेखन तालिम सञ्चालन गरिएको हो । तालिममा वडाभित्रका ६ विद्यालयका ४५ जना शिक्षक सहभागी भएका छन् ।

सामान्यतया शिक्षकलाई विषयगत दक्षता वा पठनपाठन विधि तालिम दिने गरिन्छ । तर यसपटक शिक्षकको लेखाइ नै सुधार गर्न हस्तलेखन तालिम दिईएको हो । वडाध्यक्ष भलबहादुर कटवालका अनुसार, बालकक्षादेखि माध्यमिक तहसम्मकै शिक्षकहरुलाई हस्तलेखन तालिम सञ्चालन गरिएको छ ।

नगरप्रमुख तेजन खनालले हस्तलेखनलाई शिक्षककै स्तरबाट सुधार्ने काम नगरी विद्यार्थीलाई मात्र सच्याउन खोज्दा दीर्घकालीन सुधार सम्भव नहुने भएकाले यस्तो तालिम आवश्यक भएको बताए । उनले भने, “तालिम लिएका शिक्षक बाट विद्यार्थीको लेखाई सुधार हुने कुरामा विश्वस्त छौं ।”

तालिमबाट सहभागी शिक्षकले नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखाइ सुधार गर्ने अभ्यास गर्नेछन् । तालिम पश्चात् सिकेका सीपलाई विद्यार्थीमा कार्यान्वयन गराइने जनाइएको छ । सिद्धिचरण नगरपालिका–७ को शिक्षा समितिको आयोजनामा उक्त तालिम शुक्रवार देखि सञ्चालन भएको हो ।