ओखलढुंगामा छाडा कुकुर मात्र नभई बाँदरको टोकाइले समेत नागरिकलाई त्रसित बनाएको छ । बाँदरले मान्छे टोक्यो, सुन्दा अचम्म लाग्न सक्छ । तर, जिल्ला अस्पताल रुम्जाटारको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा तीन जनालाई बाँदरले टोकेको छ । ती सबैलाई रेबिज विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल रुम्जाटारको तथ्यांक अनुसार हालसम्म १८६ जनाले कुकुर, बाँदर, स्याल र बंगुरको टोकाइ भोगिसकेका छन् ।
विशेषगरी छाडा कुकुरले टोकेको घटना बढी देखिएको छ । गत आर्थिक वर्षमा मात्रै ८० जनालाई कुकुरले टोकेको थियो भने बाँदरले तीन, बंगुर र स्यालले एक–एक जनालाई आक्रमण गरेका थिए ।
अस्पताल प्रमुख डा. रविकुमार यादवका अनुसार, हालसालै पनि आठ जनालाई छाडा कुकुरको टोकेको छ । यस्ता जनावरको टोकाइका कारण रेबिज रोग लाग्न सक्ने यादवको भनाई छ । रेबिज एकपटक लागेपछि उपचार सम्भव नहुने भएकाले, जनावरले टोकेपछि तत्काल घाउ सफा गरी नजिकैको स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
छाडा कुकुरको बृद्धि नियन्त्रण गर्न नसक्दा टोकाइका घटना बढेको स्थानियले गुनासो गरेका छन् । उनीहरूका अनुसार नगर तथा बजार क्षेत्रमा विद्यालय जाने बालबालिका र बिहान–साँझ बजार आवतजावत गर्ने सर्वसाधारण बढी जोखिममा परेका छन् ।

प्रतिक्रिया