निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ओखलढुंगाले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न आग्रह गरेको छ ।
प्याब्सनले बिहीबार देशव्यापी प्रारम्भिक आन्दोलनको थालनी गर्दै सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनाल र शिक्षा शाखा प्रमुख फडिन्द्र कटवाललाई चार बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।
प्याब्सन ओखलढुंगाका अध्यक्ष तथा लालीगुँरास इङ्लिस स्कुलका प्रधानाध्यापक सूर्य बहादुर श्रेष्ठका अनुसार विधेयकमा प्रस्तावित ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउनुपर्ने मुख्य माग रहेको छ । त्यस्तै ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द खारेज गरी हाल प्रचलनमा रहेको १० प्रतिशत छात्रवृत्तिको प्रावधानलाई निरन्तरता दिनुपर्ने, साथै छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्कलाई समावेश गर्नुपर्ने प्याब्सनको माग छ ।
प्याब्सनले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । संगठनले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया