ओखलढुंगामा वैदेशिक रोजगारीका नाममा आठ जना ठगिए

भिजन समाचार
412
Shares

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दलालहरूले ओखलढुंगाका आठ जना युवालाई ठगेका छन् । उनिहरु बाट दलालले ६ लाख २९ हजार रुपैयाँ ठगी गरेका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत ओखलढुंगास्थित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका उजुरीका आधारमा यो तथ्य सार्वजनिक भएको हो ।

केन्द्रकी परामर्शकर्ता राधा बस्नेतका अनुसार पीडितमध्ये सात जना सिद्धिचरण नगरपालिका र एक जना सुनकोशी गाउँपालिकाका छन् । उनीहरूलाई क्यानडा, माल्दिभ्स, इटालीजस्ता देशमा पठाइदिन्छु भन्दै उनिहरु बाट दलालहरूले ६५ हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेका थिए ।

बस्नेतका अनुसार ठगी गर्नेहरू नेपाल, भारत, युएई र माल्दिभ्सका समेत रहेका छन् । केही उजुरीमा विदेशमा पठाएर केही महिना काम गराएर फर्काइएको र महिनौँको तलब नदिएको पनि उल्लेख छ ।

उक्त अवधिमा दर्ता भएका सबै उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको केन्द्रले जनाएको छ । ओखलढुंगाबाट गत आर्थिक वर्षमा मात्रै ४ हजार ८७६ जना युवा वैदेशिक रोजगारीका लागि विदेशीयका छन् ।