ओखलढुंगा । चम्पादेवी गाउँपालिका–३ चित्रेमा तिहारको रौनक नजिकिँदै थियो । गाउँका आँगनहरूमा दीपको उज्यालो र साँझको चिसो हावा खेल्दै थियो । तर, त्यो दिन २३ वर्षीया लालकुमारी बुढाथोकीको घरमा भने अन्धकार र मौनता छाएको थियो ।
२०८० साल कात्तिक २४ गते, साँझपख, उनी आफ्नै घर नजिक झुण्डिएको अवस्थामा मृत भेटिईन् । तर अनुहार र शरीरमा चोटका दागहरू, दाहिने कानबाट बगेको रगत, देब्रे आँखामा गहिरो चोट । दृश्य त्यस्तो थियो, जसले ‘आत्महत्या’को धारणा भन्दा बढी ‘हत्या’को शंकालाई चर्कायो ।
मृत्युपछि लालकुमारीका माइती पक्षले श्रीमान् ३३ वर्षिय विवस बुढाथोकीलाई सम्पर्क गर्न खोजे, तर फोन बन्द थियो । त्यो दिनदेखि अहिलेसम्म विवस फरार छन् । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोजी थालेको भए पनि, उनलाई अझै पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार “विवसलाई मुख्य शंकास्पद मानिएको छ । खोजी अहिले पनि तीव्र रूपमा भइरहेको छ ।”
स्थानीय र मृतकका आफन्तका अनुसार, विवस र लालकुमारीको वैवाहिक जीवन सुरुका वर्षहरू ठीकठाक थियो । तर पछिल्ला ५–६ वर्षमा घरेलु हिंसाका घटना बढ्दै गए । माइती पक्षले यो घटनालाई ‘सामान्य झगडा’ भन्दै बेवास्ता गरे पनि, अन्ततः यही मौनता त्रासदीमा परिणत भयो ।
वडा अध्यक्ष धनबहादुर श्रेष्ठका अनुसार, लालकुमारी र विवसका दुई साना बच्चा अहिले हजुरबुवाको रेखदेखमा छन् । “बच्चाहरूले आमा–बुबा दुवै गुमाए जस्तै भएको छ,” वडा अध्यक्ष श्रेष्ठले भने ।
ओखलढुंगामा आर्थिक वर्ष २०८१/८२ मा अदालतबाट सजाय पाएका ६९ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको तथ्यांक छ । तर विवसजस्ता केही नाम अझै सूचीमा बाँकी छन् ।
लालकुमारीका माईती पक्षका लागि प्रत्येक दिन प्रतीक्षा मात्र छ, कसैले त विवसलाई फेला पारोस्, अदालतमा मुद्दा चलोस्, र छोरीको मृत्युको रहस्य खुलोस्, सत्य तथ्य बाहिर आवस् ।
दुई वर्ष बितिसक्दा पनि चित्रेको त्यो घरमा दीपावलीको उज्यालो फर्किएको छैन । त्यो रातको घटना सम्झिँदा गाउँले छिमेकीहरु अझै झस्किन्छन् ।

प्रतिक्रिया