माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा यहि साउन २९ गतेदेखि सुरु हुने भएको छ । परीक्षा सञ्चालनका लागि ओखलढुंगामा दुई परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार परीक्षा केन्द्रका रूपमा सदरमुकामको सगरमाथा जनता माध्यमिक विद्यालय र खिजीदेम्बा गाउँपालिका–९ स्थित चण्डेश्वरी माध्यमिक विद्यालय रगनीलाई तोकिएको हो ।
इकाइका सूचना अधिकारी विजय कुमार यादवका अनुसार जिल्लाबाट ३४४ जना विद्यार्थीले मौका परीक्षा दिनेछन् । तीमध्ये ३३५ जना साधारण धारतर्फका छन् भने प्रविधिक धारतर्फ ९ जना सहभागी हुनेछन् ।
परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू नै केन्द्राध्यक्ष रहने व्यवस्था मिलाइएको यादवले जानकारी दिए ।
यसअघि जिल्लामा कूल २,०३५ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये १,६५१ जना उर्तिण भएका थिए भने ३८४ जना ‘नन ग्रेडेड’ (एनजी) भएका थिए ।
इकाईका तथ्यांक अनुसार ३.६० देखि ४.० जिपिए ल्याउने विद्यार्थी १२२ जना रहेका छन् । त्यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउने ५४७ जना, २.८० देखि ३.२० जिपिए ल्याउने ६४१ जना, २.४० देखि २.८० जिपिए ल्याउने ३१३ जना र २.०० देखि २.४० जिपिए ल्याउने २८ जना रहेका छन् ।
जिल्लामा यसपटक एसईईको नतिजा अनुसार ८१.१३ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए । बाँकी विद्यार्थीलाई अवसर प्रदान गर्न पुनः मौका परीक्षा सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया