प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले विद्यार्थी जीवनको मूल आधार अनुशासन भएको बताएकी छिन् ।
काठमाडौंको सुकेधारस्थित ब्रुकलीन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कोइरालाले अनुशासनलाई जीवनको सबैभन्दा महत्वपूर्ण सम्पत्ति ठहर गर्दै विद्यार्थी जीवनबाटै अनुशासित बन्न आग्रह गरिन् ।
“अनुशासन नै सफल जीवनको जग हो । अनुशासन बिना कोही पनि लक्ष्यमा पुग्न सक्दैन,” उनले भनिन्, “आजको अनुशासनले भोलिको सभ्य समाज निर्माण गर्छ ।” समाजमा अनुशासनको अभावले अपराधजन्य गतिविधि बढिरहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गरिन् ।
सीएनएन हिरो तथा पद्मश्री पदकबाट सम्मानित कोइरालाले शिक्षाको साथसाथै व्यवहार, आचरण र जीवन पद्धतिमा अनुशासनको अभ्यास आवश्यक रहेको बताएकी छिन् ।
कार्यक्रममा कलेजका अध्यक्ष डा. खिलानाथ सापकोटाले ब्रुकलीन कलेजले व्यवहारिक तथा सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई अनुशासित र सक्षम बनाउने उद्देश्य राखेको बताए । अध्यक्ष सापकोटाका अनुसार कलेजमा देशभरिका सबै वर्ग, समुदायका विद्यार्थी अध्ययनरत छन् ।
सापकोटाका अनुसार नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न मिल्ने सुविधा कलेजमा छ, र समावेशी तथा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिइएको छ ।
ओरेन्टसन कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया