जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको प्रहरीले वर्षभरमा उल्लेखनीय सफलता हात पारेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीका अनुसार एक वर्षको अवधिमा पक्राउ परेका ६९ जनाबाट ५० वर्ष ९ महिना ९ दिन कैद तथा ११ लाख ७ हजार ९७६ रुपैयाँ ६६ पैसा जरिवाना असुल गरिएको छ ।
कसुर गरेर अदालतबाट सजाय तोकिएका तर वर्षौंदेखि लुकीछिपी बसिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले विशेष रणनीति सहित लागिरहेको डिएसपी केसीले बताए । केसीका अनुसार पक्राउ परेकामध्ये केही त एक दशकअघि नै फरार भएका थिए ।
हालसम्म ओखलढुंगा जिल्लामा अदालतबाट सजाय पाई फरार रहेका २३६ जना प्रतिवादीमध्ये ६९ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जिल्लाभरि रहेका यस्ता फरार प्रतिवादीहरूलाई खोज्नका लागि छुट्टै विशेष टोली गठन गरी परिचालन गरिएको छ । उक्त टोलीले गोप्य सूचना, प्रविधिको प्रयोग र स्थानीय सहयोगमार्फत खोजीलाई सघाएको छ ।
ओखलढुंगा प्रहरीले पछिल्लो केही वर्षयता फरार अपराधीलाई नियन्त्रणमा लिन निरन्तर अभियान चलाउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आगामी दिनमा पनि यस्तै अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया