ओखलढुंगामा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् । सोही अवधीमा तीन जनाले गैरआवासीय नेपाली (NRN) नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार नेपाली नागरिकता त्याग गर्ने अधिकांश व्यक्तिहरूले विदेशी नागरिकता प्राप्त गरिसकेका छन् ।
प्रशासकीय अधिकृत अनुप पौडेलका अनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकता त्यागको प्रमाण, वैदेशिक राहदानी र सार्क बाहेकका मुलुकमा स्थायी बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । सबै कागजात पूरा भएमा एकै दिनमै गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया अपनाइएको पौडेलले जानकारी दिए ।
नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य सुरु भएको हो । यो नागरिकता पाउने व्यक्तिलाई नेपालमा सम्पत्ति राख्न, व्यवसाय गर्न, लगानी गर्न जस्ता अधिकारहरू प्रदान गरिने भए पनि राजनीतिक तथा प्रशासनिक अधिकारहरू भने दिइँदैन । उनीहरूलाई मतदान गर्न, निर्वाचन लड्न वा नेपाली राहदानी बनाउन अनुमति छैन ।
प्रशासन कार्यालयले नागरिकता सम्बन्धी कार्यहरूमा पारदर्शिता र कानूनी मापदण्डको कडाइका साथ पालना गरिरहेको जनाएको छ । कार्यालयले नागरिकता वितरण र व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखेको बताइएको छ ।

प्रतिक्रिया