विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य मार्गमा अवस्थित ओखलढुंगाको ठाडे गाउँ पर्यटकीय सम्भावनाका साथ अघि बढ्दै गए पनि शैक्षिक पूर्वाधार भने क्रमशः संकटतर्फ उन्मुख भएको छ ।
सिद्धिचरण नगरपालिका–६ मा पर्ने ठाडे गाउँमा हाल होटल तथा होमस्टेहरू सञ्चालनमा छन् । पर्यटक भित्र्याउने पूर्वाधार विस्तार भइरहेको छ । तर पछिल्लो एक दशककाे अन्तरालमा यहाँका दुई शैक्षिक संस्था बन्द भएका छन् ।
वि.सं. २०७२ सालमा विद्यार्थी संख्या घटेसँगै चाँगेस्थान आधारभूत विद्यालय नजिकैको जन्तरखानी माविमा गाभिएको थियो । सोही आसपासका बस्तीका विद्यार्थी लक्षित गरी निजी लगानीमा स्थापना गरिएको ग्रेस एकेडेमी इङ्लिस स्कुल केही वर्ष सञ्चालनमा रह्यो । स्वीडेन र नर्वेबाट प्राप्त आर्थिक सहयोगमा सञ्चालित उक्त विद्यालय पनि विद्यार्थी अभावका कारण गत चैत महिनादेखि पूर्णरूपमा बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार मगरले जानकारी दिए ।
“शुरूको केही वर्ष जन्तरखानी, सोलुखुम्बु, पात्ले, टोड्के लगायत गाउँका विद्यार्थीले विद्यालय भरिभराउ थियो,” उनले भने, “तर पछिल्लो समय अभिभावकहरूले आफ्ना बालबालिकालाई काठमाडौँ, सोलु सल्लेरी र ओखलढुंगा सदरमुकामका बोर्डिङ स्कुलमा पठाउन थालेपछि विद्यार्थी संख्या घट्दै गयो ।”
करीब ३० घरधुरी रहेको ठाडे अहिले पूर्णरूपमा शैक्षिक संस्थाविहीन बनेको छ । सिद्धिचरण नगरपालिका–६ का वडाध्यक्ष मेखबहादुर मगरका अनुसार स्थानीय अभिभावक र निजि विद्यालय सञ्चालकलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
ठाडे जस्ता भौगोलिक रूपमा महत्वका बस्तीमा शिक्षा सुविधा नहुनु गम्भीर चुनौती हो । पर्यटकीय क्षेत्रसँगै शिक्षा क्षेत्रको समान विकास हुन आवश्यक छ ।

प्रतिक्रिया