ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित सिद्धिचरण लोकमार्ग बाढीका कारण अवरुद्ध भएको छ । अविरल वर्षापछि भडाँरे खोलामा आएको लेदो तथा खहरे बाढीले सडकको एक भाग भत्काउँदा करिब १० मिटर सडकमा क्षति पुगेको छ ।
प्रहरी चौकी हर्कपुरका अनुसार सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ घटना स्थलमा प्रहरी टोली परिचालन गरिएको छ । सडक डिभिजन कार्यालय हर्कपुर मार्फत अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उक्त बाढी प्रभावित स्थान प्रहरी चौकी हर्कपुरबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ । पानीको बहावले सडक कटान गरेकाले यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । सुरक्षाकर्मी तथा प्राविधिक टोलीले तत्काल सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाण्डौ साथै तराई बाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङ आउने सवारी साधन रोकिएका छन् । यसका साथै देशका विभिन्न स्थानबाट खोटाङको हलेशी दर्शनका लागि आउने र फर्किने तिर्थयात्रीहरु मारमा परेका छन् ।

प्रतिक्रिया