सिद्धिचरण लोकमार्गको जोखिमपूर्ण मोडमा ‘कन्भेक्स मिरर’ जडान

भिजन समाचार
42
Shares
मोडमा ‘कन्भेक्स मिरर’ र सवारी । तस्वीर-भिजन साचार ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुंगाको हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘कन्भेक्स मिरर’ जडान गरिएको छ । सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाको तीन लाखभन्दा बढी लागतमा मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरदेखि सिद्धिचरण नगरपालिका–६ ठाडेसम्म १७ स्थानमा यस्ता मिरर राखिएको हो ।

दुर्घटना न्यूनीकरणको उद्देश्यसहित आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको उक्त कार्य ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका जोखिमयुक्त सडक खण्डमा ‘कन्भेक्स मिरर’ राख्ने कार्यक्रम अन्तर्गत भएको हो । हर्कपुर डिभिजन सडक कार्यालयका सिनियर डिभिजन इञ्जिनियर सविन जोशीका अनुसार, ती मोडहरूमा मिरर राखिएपछि विपरीत दिशाबाट आउने सवारी सजिलै देखिने भएकाले दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

जोशीका अनुसार, अघिल्लो पटक मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको सहयोगमा राखिएका मिररहरू केही स्थानमा पुराना भइसकेका थिए । तीमध्ये केही स्थानमा नयाँ मिरर जडान गरिएको छ भने केही मिररको मर्मत पनि गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगा र सडक डिभिजन कार्यालयको सहकार्यमा सम्पन्न यो कार्यबाट सडक सुरक्षामा थप सहजता आउने ट्राफिक प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरीक्षक लेखनाथ खनालले बताए । 

मिरर जडानले मोडहरू पार गर्न सजिलो भएको चालक अभिषेक राईले बताए । अर्का चालक गंगालाल तामाङका अनुसार साघुँरा मोडमा सधैं जोखिम त हुन्छ, तर मिररले अहिले धेरै सहज बनाएको छ ।