ओखलढुंगामा हालसम्म करिब ८३ प्रतिशत घरधुरीमा केन्द्रीय विद्युत प्रसारण सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाले दिएको जानकारी अनुसार हालसम्म जिल्लाभित्र २८ हजार ४६७ घरधुरीमा विद्युत सेवा पुगेको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ओखलढुंगामा कुल ३४ हजार २८६ घरधुरी छन् । जिल्लाको कुल घरधुरी र प्राधिकरणले दिएको विवरण अनुसार ८३ प्रतिशत घरमा केन्द्रिय विधुत पुगेको देखिन्छ ।
यस आधारमा अझै करिब ५ हजार ८१९ घरधुरी विद्युत सेवाबाट वञ्चित छन् । ४ हजार घरधुरीमा निकट भविष्यमा सेवा विस्तार गर्ने योजना बनाएको नेपाल विधुत् प्राधिकरण वितरण केन्द्र ओखलढुंगका सूचना अधिकारी रसिलाल राउतले बताए ।
प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै खिजीदेम्बा, लिखु, सुनकोशी र मोलुङ गाउँपालिकाका २ हजार ५२९ घरधुरीमा विद्युत सेवा विस्तार गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य प्रगति हो ।
यता, महसुल संकलनतर्फ भने केही समस्या देखिएको छ । सोही अवधिमा प्राधिकरणले विद्युत महसुलबापत ६ करोड ७४ लाख ४२ हजार ८६ रुपैयाँ ६९ पैसा राजस्व संकलन गरेको भए पनि ३० जना ग्राहकले अझै भुक्तानी नगरेको जनाइएको छ । उनीहरुलाई कालो सूचिमा राखिएको सूचना अधिकारी राउतले जानकारी दिए । ती ग्राहकहरूबाट हालसम्म ४ लाख ७९ हजार ७५ रुपैयाँभन्दा बढी रकम उठ्न बाँकी रहेको छ ।
प्राधिकरणका अनुसार विद्युत महसुल समयमा नतिर्ने उपभोक्तामाथि विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । विनियमावली अनुसार मिटर रिडिङ भएको १६ औं दिनदेखि नै थप दस्तुर लाग्ने, ६० औं दिनसम्म महसुल नबुझाए विद्युत लाइन काट्न मिल्ने प्रावधान छ ।
जिल्लामा ८३ प्रतिशत सेवा विस्तार उच्च प्रगति भए पनि बाँकी १७ प्रतिशत घरधुरीमा अझै पहुँच नपुगेकोले पूर्ण विद्युतीकरणको लक्ष्य अझै अपूरो छ ।

प्रतिक्रिया