लोप हुँदै गएका रैथाने बालीको संरक्षणका लागि ओखलढुंगाका स्थानीय बासिन्दाहरू सक्रिय हुँदै गएका छन् । उन्नत जातका बाली र तरकारीको खेती फस्टाउँदै गएका बेला परम्परागत स्वाद, पोषण र जैविक विविधताको प्रतीकका रूपमा रहेको रैथाने बालीप्रति जनचासो बढ्न थालेको हो ।
रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि सिद्धिचरण नगरपालिका–७ टोड्काका कृषक राजेश श्रेष्ठले रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना गरेका छन् । सुभारम्भ कृषि तथा पशुपंक्षी फार्ममार्फत श्रेष्ठले लासे आलु, बुङ आलु, उवा, कागुनो, बेथु, लट्टेजस्ता लोपोन्मुख बालीको उत्पादन, बिउ संकलन र बजारिकरण गरिरहेका छन् ।
“कागुनो, बेथु, लट्टे जस्ता बाली लोप हुने अवस्थामा छन्, त्यसैले हामीले आफैं खेती गर्दै बिउ वितरण र सामग्री बिक्री गरिरहेका छौं,” श्रेष्ठले बताए । श्रेष्ठका अनुसार केन्द्रमार्फत रैथाने आलुको १० जात, सेतो–रातो मकै, कालो र ज्वाइँ कोदो, तिते–मिठे फापर, उवाजस्ता बालीको बिउ तथा पिठो संकलन र विक्री भइरहेको छ । साथै बेथु, कागुनो, सिलाम, टिमुर, ठुलो ओखतीजस्ता जडीबुटी पनि संकलन र वितरण गरिन्छ ।
श्रेष्ठका अनुसार ओखलढुंगा, सोलुखुम्बु र काठमाडौँलगायत क्षेत्रबाट पनि रैथाने उत्पादन खरिदका लागि ग्राहक आउने गरेका छन् । उक्त केन्द्र स्थापनाका लागि सिद्धिचरण नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ अनुदान दिएको कृषि शाखा प्रमुख अस्मिता दाहालले जानकारी दिइन् । उक्त रकम कुटानी–पिसानी मिल, प्याकेजिङका लागि प्लास्टिक झोला, बोरा लगायत सामग्री खरिदमा खर्च गरिएको श्रेष्ठले बताए ।
यस्तै, सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेमा पनि नगरपालिकाको सहयोगमा सहास नेपाल र सेतीदेवी अगुवा आलु खेती कृषक समूहको संयुक्त लगानीमा अर्को रैथाने बाली संकलन केन्द्र सञ्चालनमा आएको छ । वडा अध्यक्ष मेख मगरका अनुसार उक्त केन्द्रमार्फत आलु, मुला, तरकारी र स्थानीय जडिबुटी संकलन तथा विक्री हुने गरेको छ ।
गाउँ–गाउँमा स्थापना गरिएका यस्ता केन्द्रहरूले लोपोन्मुख बालीको संरक्षणसँगै स्थानीय खाद्य सुरक्षा, जैविक विविधता र ग्रामीण अर्थतन्त्र सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । मौलिक स्वाद र पौष्टिकताका कारण रैथाने बालीको माग बढ्न थालेपछि संरक्षणको प्रयासले थप गति लिएको छ ।

प्रतिक्रिया