ओखलढुंगा जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट

ओखलढुंगा जिल्ला अदालतकाे भवन । तस्वीर-सरस्वती बानिया

ओखलढुंगा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्याेट गरेको छ । अदालतले सो अवधिमा ३२१ ओटा मुद्दा फर्छ्याेट गर्ने लक्ष्य राखेकोमा ३५९ ओटा मुद्दा फर्छ्याेट गर्न सफल भएको हो । यससँगै अदालतको मुद्दा फर्छ्याेट कार्यसम्पादन १११.८३ प्रतिशत पुगेको छ ।

अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार उक्त आर्थिक वर्षमा ३५१ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरि आएका १६० मुद्दा समेत गरी कुल ५११ मुद्दा रहेकोमा ३५९ मुद्दा फर्छ्याेट भएका छन् । बाँकी १५२ मुद्दामध्ये ६ वटा मात्रै अघिल्लो वर्षबाट सरि आएका हुन् ।

रिजालका अनुसार अदालतमा १८ महिनाभन्दा पुराना मुद्दा बाँकी छैनन् । अदालतमा हाल १२–१८ महिनाभित्रका ६, ६–१२ महिनाभित्रका २२ र ६ महिनाभित्रका १२४ मुद्दा रहेको जानकारी दिइएको छ ।

फैसला कार्यान्वयनतर्फ अदालतले यस वर्ष २३२ वर्ष २ महिना १ दिनको कैद सजाय कार्यान्वयनमा ल्याएको छ । यस्तै, प्रतिवादीहरूबाट ३५ लाख ४६ हजार ४५९ रुपैयाँ जरिवाना असुल उपर भएको छ ।

अदालतको अभिलेख व्यवस्थापनसमेत डिजिटल प्रणालीमा अघि बढाइएको छ । हालसम्म अभिलेख शाखामा रहेका १८ हजार ५५४ मिसिलमध्ये ९ हजार ७५० मिसिल स्क्यान गरी डिजिटल प्रणालीमा प्रविष्ट गरिएको अदालतले जनाएको छ ।

साथै, न्यायमा पहुँच अभिवृद्धिका लागि अदालतले सञ्चारकर्मी, बार र सरकारी वकिलसँग अन्तरक्रिया कार्यक्रम, न्यायमा बाह्य पहुँचलगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना अनुरुप सर्वसुलभ न्याय प्रवाहका लागि थप रणनीति तय गर्ने तयारी भइरहेको सूचना अधिकारी रिजालले जानकारी दिए ।