मानेभञ्ज्याङ–५ का कृषकलाई उत्पादनमुखी प्रोत्साहन

भिजन समाचार
102
Shares

मानेभञ्ज्याङ गाउँपालिका वडा नं.५ ले तरकारी उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत सबैभन्दा बढी तरकारी उत्पादन गर्ने १३ जना कृषकलाई विशेष प्रोत्साहन प्रदान गरेको हो ।

वडाका तरकारी उत्पादक कृषकलाई वडाले प्रति केजी ५ रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । सो कार्यक्रम अन्तरर्गत वडाका कृषकले कुल १ लाख १५ हजार ६८० केजी तरकारी उत्पादन गरेको आधारमा ५ लाख ७८ हजार ४०० रुपैयाँ बराबरको अनुदान राहत वितरण गरिएको वडा अध्यक्ष रामकुमार राईले बताए ।

वडा भित्रका १६२ जना कृषकहरूले वर्ष भरिमा कृषि उपज संकलन केन्द्रमा तौल गरेर तथ्याङक रेकर्ड गराएका थिए । १६२ मध्ये उत्कृष्ट १३ जना कृषकहरूको सूचि सार्वजनिक गरिएको वडाअध्यक्ष राईले बताए । तीमध्ये सबैभन्दा बढी ६ हजार ६७४ केजी उत्पादन गरेर फरक बहादुर आलेले ३३ हजार ८७० रुपैयाँ अनुदान प्राप्त गरेका छन् । त्यसपछिका उत्कृष्ट उत्पादकमा गंगासरी राईले २७ हजार ४७०, टङ्कराज राई २५ हजार ३२०, गौजित राई २१ हजार ४८५, र मनराज राईले १९ हजार ४५५ अनुदान प्राप्त गरेका छन् ।

यसका साथै आसा राई १७ हजार ४३०, गन्ध बहादुर श्रेष्ठ १६ हजार १७०, निल माया राई १३ हजार २२५, गोपाल श्रेष्ठ १३ हजार पाँच, चुर्समान राई १२ हजार ९३०, सित्तली राई १२ हजार ५९०, विर्जमान राई ११ हजार ९७५ र हिमकुमार राई ११ हजार ६१० नगद प्रोत्साहन प्राप्त गरेका छन् । यय सँगै १६२ जना कृषकलाई उत्पादनको आधारमा रकम प्रदान गरिएको वडाअध्यक्ष राईले जानकारी दिए ।

वडाले सीमित बजेटका बाबजुत उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । तरकारी तथा कृषि उपज उत्पादन गरिरहेका कृषकहरुलाई व्यवसायीक बनाउन प्रोत्साहनका लागि यो कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष राईले बताए ।