उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाको बार्षिक समिक्षा सम्पन्न भएको छ । समिक्षाको अवसरमा अदालतले पछिल्लो वर्षमा लगतको आधारमा ८४ प्रतिशत र लक्षको आधारमा १०३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको रजिस्टार विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने अदालत खोटाङ जिल्ला अदालत रहेको छ । खोटाङले ८०.३१ प्रतिशत, सोलुखुम्बुले ७२.८७ प्रतिशत र ओखलढुंगाले ७०.२५ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएका छन् ।
मुद्दा फछ्र्यौटमा उत्कृष्ट कार्यका लागि खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद दाहाललाई सम्मान गरिएको छ । त्यस्तै, मिसिल डिजिटलाइजेशनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सोलुखुम्बुका पासाङ काजी तामाङ, ओखलढुंगाका डिठ्ठा चित्र प्रसाद दाहाल, खोटाङका नायव सुब्बा हरि प्रसाद आचार्य, उच्च अदालत ओखलढुंगाका सरिता बानिया र नासु शान्ता भट्टराईलाई नगद दुई–दुई हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि मुख्य न्यायाधीश धीर बहादुर चन्दले सम्मान गरेका थिए । उनले स्रोत, साधन र कर्मचारी अभावका बीच पनि प्रभावकारी रुपमा न्याय सम्पादन र सेवा प्रवाह गर्न सफल अदालतहरूको प्रशंसा गरेका छन् । भविष्यमा अझ प्रभावकारी र जनमैत्री न्याय प्रणाली विकासको अपेक्षा रहेको मुख्य न्यायाधीस चन्दको भनाई छ ।
यस्तै, न्यायाधीश बबिता उप्रेतिले अदालतमा उत्पन्न हुने समस्याहरू समाधान गर्न समन्वयात्मक शैलीमा अघि बढ्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा खोटाङ जिल्ला अदालतका न्यायाधीश भट्टराई, सोलुखुम्बुका चन्द्र बहादुर पोखरेलसहित उच्च अदालतका न्यायाधीश, श्रेस्तेदार, तहसिलदार र कर्मचारीको उपस्थिति रहेको थियो ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका रजिष्ट्रार विष्णु प्रसाद पाण्डेले समिक्षा कार्यक्रमको उद्देश्य प्रभावकारी, छिटो, छरितो र विश्वसनीय न्याय सम्पादन तथा अदालतको सेवा जनमैत्री बनाउने रहेको बताएका छन् ।

प्रतिक्रिया