दुर्घटना अपडेटः घाईते बालिकालाई काठमाण्डौ रेफर

भिजन समाचार
120
Shares

ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा  बुधबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि काठमाण्डौ पठाईएको छ । उनको थप उपचारका लागि हेलिकप्टरमार्फत सिएमसी अस्पताल काठमाडौं लगिएको छ ।

बा ८३ प ८४८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–४ काँकु घर भई हाल मिलनचोकमा बस्दै आएका टकेराज राईकी ४ वर्षीया छोरी रियासा राई घाइते भएकी थिइन् ।

दुर्घटनापछि बालिकालाई तत्काल उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको छ, भने शरीरका अन्य भागमा मध्यम चोट लागेको छ । अवस्था समान्य रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ ।

बालिकाको परिवारजनको आग्रहपछि थप उपचारका लागि बिहीबार बिहान हेलिकप्टर मार्फत काठमाडौंस्थित सिएमसी अस्पताल लगिएको हो ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक चिसंखुगढी गाउँपालिका–७ निवासी २१ वर्षीय सबिन राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।