रवि लामिछानेको पक्षमा ओखलढुंगामा १० हजार बढी हस्ताक्षर

भिजन समाचार
332
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ओखलढुंगामा १० हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन् । राजनीतिक प्रतिशोध स्वरूप लामिछानेमाथि गरिएको आरोपको विरोधमा रास्वपाले देशभर सञ्चालन गरिरहेको हस्ताक्षर अभियान अन्तर्गत जिल्लामा २० दिनको अवधिमा १० हजार ९८६ जनाले हस्ताक्षर गरेका हुन् ।

जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै लिखु गाउँपालिकामा हस्ताक्षर संकलन भएको छ । लिखुमा मात्र दुई हजार ५६७ जनाले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, मोलुङ गाउँपालिकामा दुई हजार १५६, सिद्धिचरण नगरपालिकामा दुई हजार ८४, चम्पादेवीमा एक हजार ८२६, सुनकोशीमा एक हजार ५८२, मानेभञ्ज्याङमा ३२६, खिजिदेम्बामा ३२१ र सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा १२४ जनाले हस्ताक्षर गरेका छन् ।

रास्वपा ओखलढुंगा जिल्ला अध्यक्ष कृष्ण थापाका अनुसार जिल्लाका गाउँ–टोलमा नागरिकहरू स्वतःस्फूर्त रूपमा अभियानमा सहभागी भइरहेका छन् । हस्ताक्षर अभियान जिल्लाका सबै स्थानिय तहका गाउँ टोलमा अझै दुई महिना सम्म सञ्चालन हुने सभापती थापाले जानकारी दिए । जिल्ला अध्यक्ष थापा भन्छन्, “हामी जनताको आवाज सुन्दैछौं । हस्ताक्षर मात्रै होइन, जनताका आवश्यकता, सुझाव र गुनासो पनि संकलन गरिरहेका छौं ।”

ओखलढुंगाका प्रदेश सांसद कोशी प्रदेशका पुर्व सभामुख बाबुराम गौतमले पनि रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपाको केन्द्रिय कार्यालयमा पुगेर गौतमले हस्ताक्षर गरेका हुन् । नेकपा माओवादी केन्द्र पार्टीबाट ओखलढुंगा प्रदेश ‘ख’ बाट गौतम प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

रास्वपाले पार्टी अध्यक्ष लामिछानेमाथि राजनीतिक प्रतिशोध स्वरूप हमला भइरहेको आरोप लगाउँदै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । अभियानको उद्देश्य लामिछानेको समर्थनमा जनमत संकलन गर्नुका साथै जनताको भावना बुझ्नु रहेको रास्वपाले जनाएको छ ।