मोटरसाइकलको ठक्करबाट ४ वर्षीया बालिका घाइते, चालक नियन्त्रणमा

भिजन समाचार
54
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११, मिलनचोकमा एक मोटरसाइकलको ठक्करबाट ४ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

बुधबार साँझ रमाइलो डाँडाबाट केत्तुकेतर्फ गइरहेको तत्काल नम्बर नखुलेको मोटरसाइकलले स्थानीय टेकराज राईकी छोरी रियासा राईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भए पनि तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते बालिकालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाएको थियो । बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको बताइएको छ । उनको उपचार भईरहेको छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीको कमाण्डमा २० जना प्रहरी परिचालन गरी फरार चालक र सवारी साधनको खोजी गरिएको थियो ।

घटनाको करिब साढे तीन घण्टा पछि सिद्धिचरण नगरपालिका–३ अँधेरीबाट बालिकालाई ठक्कर दिएको भागेको बा ८३ प ८४८१ नम्बरको मोटरसाइकलसहित चालक सबिन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राई चिसंखुगढी गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।