घाँस काट्न र दुध दुह्न जान्नेलाई जागिर

भिजन समाचार
98
Shares

घाँस काट्न र दुध दुह्न जान्नेलाई रोजगारीको अवसर आएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ नम्बर वडाले सञ्चालन गरेको भैंसी पालन फर्ममा घाँस काट्न र दुध दुह्न जान्नेलाई जागिरको अवसर आएको हो ।

वडा कार्यालयले एक सूचना सार्वजनिक गरेर भैंसी पालन कार्यक्रमका लागि कर्मचारी माग गरेको छ । सूचनामा सामान्य शैक्षिक योग्यताको सट्टा “दूध दुह्न जान्ने”, “घाँस काट्न जान्ने” र “पशु स्वास्थ्य सम्बन्धी जानकारी हुने” जस्ता सीधा व्यवहारिक योग्यता उल्लेख गरिएको छ ।

१८ वर्ष पुरा भई ५५ वर्ष ननाघेका इच्छुक व्यक्तिहरूले ७ दिनभित्र सम्पर्क गर्न आह्वान गरिएको छ । श्रीमान–श्रीमती भए प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

वडा अध्यक्ष विष्णु प्रसाद गौतमका अनुसार, “गाउँको स्रोत र जनशक्तिलाई उपयोग गर्दै पशुपालनलाई व्यवस्थित गर्ने प्रयास स्वरूप यो कार्यक्रम अघि बढाइएको हो । कृषि–पशुपालनमै रोजगारी सिर्जना गरेर युवालाई गाउँमै रोक्न सकिन्छ भन्ने उद्देश्य लिएका छौं ।” वडाले दश लाख लगानी गरेर हर्कपुरमा भैंसी पालन कार्यक्रम सुरु गरेको छ ।