ओखलढुंगा सामुदायिक अस्पताललाई स्वास्थ्य विमाको प्रथम सेवा विन्दुको रूपमा पुनः स्थापना गर्न माग गरिएको छ । संघीय सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित जिल्लाका सरोकारवाला निकायहरूले अस्पतालमै सेवा विन्दु कायम गर्न स्वास्थ्य विमा बोर्डमा औपचारिक माग गरेका हुन् ।
सांसद खतिवडाले स्वास्थ्य विमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री र कार्यकारी निर्देशक डा. रघुराज काफ्लेलाई भेटी ओखलढुंगाबासीका लागि सामुदायिक अस्पतालमा सेवा विन्दु पुनः स्थापनाको आग्रह गरेका हुन् ।
उनले भौगोलिक विकटता र पहुँचका हिसाबले सामुदायिक अस्पतालमै सेवा विन्दु भएमा विमा सुविधा सरल र प्रभावकारी हुने जनाउँदै, स्थानीय तहसँग समन्वय गरी विशेष व्यवस्था गर्न सुझाव दिएका छन् ।
यसैबिच नेपाली काङ्ग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य कुमार लुइँटेलले पनि स्वास्थ्य विमाका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा सेवा विन्दु कायम गर्न माग गरेका छन् । स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरेर एक पत्र लेख्दै लुईटेलले वीमाका लागि सामुदायिक अस्पतालमा प्रथक सेवा विन्दु थप गर्न माग गरेका हुन् ।

यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ओखलढुंगाले पनि सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा पुनः सुचारु गर्न माग गरेको छ । एक विज्ञप्ती सार्वजनिक गरेर रास्वपाले सामुदायिक अस्पतालमा स्वास्थ्य विमाको सेवा विन्दु कायम गर्न माग गरेको हो ।

यद्यपि स्वास्थ्य विमा बोर्डले हाल सामुदायिक तथा निजी अस्पतालमा सेवा विन्दु नतोकिने नीति अघि सारेको छ । यसअघि ओखलढुंगा सामुदायिक अस्पतालमा उपलब्ध रहेको सेवा विन्दु गत असार ८ गतेबाट हटाइएको थियो ।
बोर्डले रुम्जाटारको जिल्ला अस्पताल वा रानीबन प्राथमिक स्वास्थ्य केन्द्रमा ओखलढुंगाका लागि प्रमथ सेवा विन्दु तोकेको थियो । सामुलदायिक अस्पतालमा उपचार गर्दा विमा सुविधा नपाउँदा बिरामीहरू आर्थिक तथा मानसिक रूपमा मारमा पर्ने भएका छन् । किनकी अधिकांश स्वास्थ्य उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल जाने गरेका छन् ।

प्रतिक्रिया