सुनकोशी नदी आसपास सतर्कता अपनाउन जिल्ला प्रशासन ओखलढुंगाको आग्रह

भिजन समाचार
126
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सुनकोशी नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको र आज राति थप वर्षा हुने पूर्वानुमान रहेको जनाउँदै चिनियाँ अधिकारीहरूले नेपाललाई औपचारिक जानकारी गराएका छन् ।

उक्त जानकारीका आधारमा सुनकोशी नदीमा जलसतह उच्च बन्न सक्ने र त्यसले बाढीको जोखिम बढाउने सम्भावना रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सूचना जारी गरेको छ ।

सुनकोशी नदी आसपासका वस्तीमा बाढीको सम्भावित असरलाई मध्यनजर गर्दै नदी किनारमा अनावश्यक रूपमा नजान र सवारी साधन सञ्चालनमा सावधानी अपनाउन प्रशासकीय अधिकृत अनुप पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

साथै, सिद्धिचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका भित्री तथा जोखिमयुक्त सडकहरूमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।

आपतकालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिक स्थानिय तहका जनप्रतिनिधी साथै प्रहरी चौकीहरुमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ ।