एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ओखलढुंगाको एक युवकलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । अदालत बाट सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई दश वर्ष कैद सजायको फैसला भएको हो ।
जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको गत असार १६ गतेको ईजलासले भुजेलले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदार बाट पाँच लाख रुपियाँ जरिबाना र १८ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी प्रमोद रिजालले बताए ।
पीडित बालिकालाई भुजेलले गत पुस महिनामा बलात्कार गरेको आरोपमा पीडित पक्षले उनी विरुद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले माघ २६ गते नै पक्राउ गरी जिल्ला अदालतमा फागुन १९ गते जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

प्रतिक्रिया