ओखलढुंगाको लिखु गाउँपालिकामा स्काउट गतिविधिमा संलग्न विद्यार्थीको क्षमता अभिवृद्धिका लागि दुईदिने तालिम सम्पन्न गरिएको छ । असार १८ र १९ गते सञ्चालित उक्त तालिममा गाउँपालिकाभित्रका तीन माध्यमिक विद्यालयका १०२ जना विद्यार्थी सहभागी भएका थिए ।
तालिमसँगै स्काउट पोशाक वितरणसमेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए । राउतका अनुसार तालिमका लागि गाउँपालिकाले तीन लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
“स्काउट गतिविधिका कारण विद्यार्थीमा अनुशासन, नेतृत्व विकास, सामाजिक सेवामा सहभागिता र सिर्जनशीलता वृद्धि भएको देखिएको छ,” गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले भने, “यस्ता कार्यक्रमले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पु¥याउँछ ।”
उपाध्यक्ष अस्मिता थापाले स्काउटमार्फत विद्यार्थी अनुशासित हुँदै सामाजिक उत्तरदायित्वप्रति सचेत बन्न थालेको बताइन् । “सिर्जनशील कार्यमा अग्रसर हुने प्रवृत्ति विकास भएको छ,” उपाध्यक्ष थापाले भनिन् ।
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय गाम्नाङ्टारका शिक्षक पुष्पराज भट्टराईका अनुसार स्काउट गठनपछि पठनपाठन र अन्य शैक्षिक गतिविधिमा विद्यार्थीको सक्रियता बढेको छ ।
स्थानीय स्काउट संयोजक सुशील घिमिरेका अनुसार गाउँपालिकाका तीन विद्यालयमा स्काउट सक्रिय छन् र १३४ जना विद्यार्थी आबद्ध छन् । सहभागी विद्यार्थी नेविका भट्टराईले तालिमले सामाजिक कार्यमा अनुशासित तरिकाले सहभागी हुन प्रेरणा मिलेको बताइन् ।
तालिमको माध्यमबाट विद्यार्थीलाई विपद् व्यवस्थापन, सामूहिकता र सामाजिक सेवाको अभ्यास गराइएको थियो ।

प्रतिक्रिया