जिल्ला प्रशासन कार्यालय र पत्रकारबीच अन्तरक्रिया, सुशासन र सेवा प्रवाहमा सुझाव आदानप्रदान

भिजन समाचार
74
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सूचना सम्प्रेषणमा समन्वय र सुशासन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा पत्रकारहरूले प्रशासनको कामकाजमा सुधारका सुझावहरू दिएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको समन्वयमा भएको कार्यक्रममा प्रशासनले विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र अनुगमन सम्बन्धी जानकारी प्रस्तुत गरेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल)ले प्रशासनको सेवा, कार्यक्षेत्र र कार्यशैलीबारे विस्तृत जानकारी दिएकी थिईन् ।

उनले नागरिकले आवश्यक कागजात नलिएर आउने प्रवृत्तिले सेवा प्रवाहमा समस्या आउने गरेको उल्लेख गर्दै सेवा चुस्त–दुरुस्त बनाउन दुवै पक्षको भूमिका जरुरी रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका उपाध्यक्ष रविन श्रेष्ठलगायत उपस्थित पत्रकारहरूले जिल्लामा सवारी भाडादरको नियमन, पार्किङ व्यवस्थापन, अवैध क्रसर उद्योगको नियन्त्रण, सरकारी कार्यालय र व्यवसायको अनुगमन तथा प्रभावकारी सार्वजनिक सुनुवाइको माग गरेका छन् ।

जवाफमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पत्रकारहरूको सुझावलाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाएका छन् । “सुझावहरू अत्यन्तै महत्वपूर्ण छन्,” उनले भने, “आवश्यक निर्देशन, कार्यान्वयन र अनुगमन मार्फत सुधार गर्दै लैजाने छौं ।”

प्रजिअ सुवेदीले नागरिकलाई सास्ती नहोस् भन्ने हेतुले वडाबाटै आवश्यक कागजात अद्यावधिक हुने व्यवस्था मिलाउने तयारी रहेको जानकारी दिए । साथै, विपद् व्यवस्थापनको जिम्मा पालिकाको भएकोले सोबारे जनचेतना अभिवृद्धिमा पत्रकारहरूको भूमिका आवश्यक रहेको उनले बताए ।

प्रशासनले गर्ने अनुगमन, सूचना संकलन र सेवामूलक काममा पत्रकारको सहभागिता सुनिश्चित गर्दै नागरिकमा सही जानकारी प्रवाह गर्न समन्वय गरिने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी सुवेदीले व्यक्त गरेका छन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका पदाधिकारी, जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।