मोलुङमा तिम्ल्याहा बच्चाको हेरचाहका लागि सहयोग

भिजन समाचार
130
Shares

ओखलढुंगाकाे मोलुङ गाउँपालिका–६ श्रीचौरकी हिरामाया तामाङले जन्माएको तिम्ल्याहा बच्चारुको हेरचाहका लागि आर्थिक सहयोग प्राप्त भएको को । मोलुङ गाउँपालिकाका अगुवा युवाहरुले एक लाख बढी रकम संकलन गरी तामाङ परिवारलाई सहयोग प्रदान गरेका छन् ।

मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङको नेतृत्वमा सञ्चालित सहयोग संकलन अभियानमा मोलुङ–५ का वडा अध्यक्ष गंगा बहादुर तामाङ, वडा नम्बर ३ का अध्यक्ष मित्र सुनुवार, वडा नम्बर ५ का वडा सदस्य नानी बाबु तामाङ, गाउँपालिकाका एमआइएस अपरेटर मदन केसी लगायतले सयोग संकलन गरेका थिए ।

सहयोग अभियानमा बरुणेश्वर सेवा समाजका अध्यक्ष तोया काफ्ले, स्थानीय व्यवसायी गोपाल फुयाल, किन्जु शेर्पा, सावित्री बिक लगायत स्वदेश तथा विदेशमा रहेका सयोगीहरूले आर्थिक सहयोग गरेका छन् ।

अभियानबाट जम्मा भएको एक लाख ११ हजार ५२० रुपैयाँमध्ये करिब ४५ हजार बराबरको शिशु तथा सुत्केरी हेरचाहका सामग्री खरिद गरि हस्तान्तरण गरिएको हो । बाँकी रकममध्ये ५१ हजार रुपैयाँ हिरामायाका श्रीमान् उत्तर बहादुर तामाङलाई हस्तान्तरण गरिएको मोलुङका एमआइएस अपरेटर मदन केसीले जानकारी दिए ।

यसैगरी, मोलुङ गाउँपालिकाले तीनै जना शिशुहरूको नाममा ५-५ हजार रुपैयाँका दरले १५ हजार बचत गरेको छ ।