जिल्ला विपद व्यवस्थापन समिति ओखलढुंगाको बैठकले विभिन्न १५ महत्वपूर्ण निर्णय गरेको छ । मनसुन सक्रिय भइरहेको अवस्थामा बुधबार बसेको बैठकले मनुसनजन्य विपद रोकथाम, न्यूनिकरण र प्रतिकार्यमा केन्द्रित रहँदै विभिन्न निर्णयहरु गरेको हो ।
जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षता र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघीय सांसद रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस बर्षको मनुसनमा हुनसक्ने जोखिमको आँकलन गर्दै जोखिम न्यूनिकरणका गर्नेबारे पूर्वतयारीका काम गर्ने, जिल्लाका रुग्ण आयोजना र कार्यक्रम सम्पन्न गर्नका लागि ताकेता गर्नेलगायतका निर्णय गरेको छ ।
बैठकले बाढी–पहिरोको जोखिम भएका बस्तीमा बसिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्ने र यसका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधिलगायत सरोकारवालाले सहयोग एवम् समन्वय गर्ने निर्णय गरेको छ ।
यस्तै विपदका बेला खटिने जनशक्ति र स्रोत साधन चुस्त दुरुस्त अवस्थामा राख्ने, सशस्त्र प्रहरीले गठन गरेको विपद सूचक समूह मार्फत विपदबारे आधिकारिक सुचनाहरु आदानप्रदान गर्ने, विपदको समयमा आवश्यक पर्ने वस्तुको जोहो गर्ने लगायतका निर्णय भएको छ ।
यस्तै हुस्सु लागेर सडक नदेखिने अवस्था रहेका ठाउँमा रिफ्लेक्टर राखेर दुर्घटनाको जोखिम कम गर्ने, बर्षा, बाढी र पहिरोका काराण सडक अवरुद्ध भएमा खुलाउनका लागि सबै पालिकाले स्काइभेटर लगायतका उपकरण तयारी अवस्थामा राख्ने र गन्तव्य सुरक्षित नहुँदासम्म सवारी आवतजावतमा रोक लगाउने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।
यस बर्षको मनसुनमा ३० बर्ष यताकै धेरै बर्षात हुने पूर्वानुमान भएकाले सबैले एकजुट भएर जोखिमको सामना गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै संघ र प्रदेशबाट बजेट विनियोजन भई सञ्चालन हुने विकास आयोजनाका बारेमा पालिकालाई जानकारी गराएर मात्र सञ्चालन गुर्नपर्ने निर्णय भएको छ ।
चालु आर्थिक बर्षमा न्यून प्रगति भएका आयोजना तथा कार्यक्रमलाई तत्काल सञ्चालन गर्न वा सम्पन्न गर्न ताकेता गर्ने पनि निर्णय भएको छ ।
यस्तै कोभिड र डेंगीको संक्रमण पनि बढेकोले यसको संक्रमण फैलन नदिन आवश्यक सतर्कता अपनाउँदै रोकथामको उपाय अवलम्बन गर्ने पनि निर्णय भएको छ । बैठकमा जिल्लाका सराकारी कार्यालयहरुले प्रगति विवरण सार्वजनिक गरेका थिए भने गाउँपालिकाका प्रमुख लगायत सरोकारवालाले राखेका समस्या, गुनासो र सुझाजमा जवाफ समेत दिएका थिए ।
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा संघिय सांसद खतिवडाले जिल्लाको विकासमा हातेमालो गर्दै समन्वय गरेर अघि बढ्न सबै सरोकारवालामा आग्रह गरे । जिल्लामा देखिएका समस्या समाधानका लागि आफुले सक्दो पहलकदमी र काम गर्ने उनले प्रतिवद्धता जनाए । संघ र प्रदेशबाट जिल्लामा जति बजेट परेको छ त्यसलाई सहि सदुपयोग गरेर नागरिकको हितमा काम गर्न उनले जिल्लाका सरोकारवाला निकाय र स्थानीय तहलाई निर्देशन दिएका छन् ।

विपदको समयमा सतर्क र चनाखो रहन आग्रह गर्दै उनले आवश्यक पुर्वतयारीमा कुनै कसर बाँकी नराख्न पनि जिल्ला विपद व्यवस्थापन समिति र सरोकारावालालाई निर्देशन दिएका छन् ।
बैठकमा सभापति खतिवडा, जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुवेदी, सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल, सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा, सबै सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, राजनीतिक दल, पत्रकारलगायत सरोकारवालको सहभागिता रहेको थियो भने भौतिक रुपमा उपस्थित हुन सम्भव नरहेका पालिकालाई भर्चुअल माध्यमबाट समेत जाडेर बैठकमा सहभागी गराईएको थियो ।

प्रतिक्रिया