ओखलढुंगाको टारकेराबारीका युवाले लगातार तीन दिन श्रमदान गरेर सडक खुलाएका छन् । लिखु गाउँपालिका–८ टारकेराबारीका युवाले टार निस्कने बाटो नजिकैको सडकको अवरोध ३५ मिटर बढी सडक सोलीङ गरि खुलाएका हुन् ।
जाल्पा माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलको अगुवाई र स्थानीय २५ बढी युवाहरुको सक्रियतामा अनुमानित एक लाख बढीको श्रमदान मार्फत सडक मर्मत गरि बाटो खुलाइएको छ ।
बाटोको दुरावस्थाका कारण बस आवतजावत गर्न सक्ने अवस्था नभएपछि सबैले हातेमालो गरेर सोलीङ गरि बाटो खुलाएर यातायात सुचारु गरिएको प्रअ पौडेलले बताए ।
बाटो मर्मतका लागि वडा कार्यालयले बजेटको व्यवस्था गरि मर्मतको योजना बनाएकोमा स्थानीय युवाले श्रमदान मार्फत सडक मर्मत गर्नु सह्राननीय काम भएको वडा अध्यक्ष पुरुषोत्तम पौडेलले बताए ।
आफ्नो गाउँ–ठाउँको सुविधाका लागि जुट्ने युवालाई उनले धन्यवाद दिए । सडक मर्मत भएर सिरिशे–टारकेराबारी सडक सुचारु भएसँगै आवतजावतमा सहज भएको छ ।

प्रतिक्रिया