ओखलढुंगामा पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम सुरु

भिजन समाचार
0
Shares

ओखलढुंगामा पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश सहयोगमा आयोजित २ दिने तालिम आईतबारबाट सुरु भएको हो ।

तालिम उद्घाटन गर्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले पत्रकारिता मार्फत खबरदारी गरेर सुशासन स्थापित गर्ने अभियानमा टेवा पुग्ने बताए । यस्ता तालिमले जिल्लाको पत्रकारिता क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले खोजमुलक पत्रकारिता गरेर आवाजविहिनको आवाज बन्न र लोकतन्त्र बलियो बनाउने लक्ष्यमा पुग्न पत्रकार तथा तालिमका सहभागीलाई आग्रह गरेका छन् । जिल्लामा क्रियाशिल पत्रकार र नव पत्रकारहरुको क्षमता विकासका लागि प्रदेश सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै ३ वटै तहका सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि योगदान गर्नुपर्ने बताए ।

पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै स्वतन्त्र प्रेसको मूल मर्म र आदर्शको पालनामा मद्दत गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ ओखलढुंगाका उपाध्यक्ष रविन श्रेष्ठले  बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सञ्चालित  तालिममा सहभागी पत्रकारहरूलाई पत्रकार आचारसंहिता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक हकहित र भौतिक सुरक्षा तथा पत्रकारितामा एआईका विषयमा प्रशिक्षण दिइएको छ । तालिममा पत्रकार प्रकाश बस्याल, शिवप्रसाद ढुंगाना र एसबी जेरोले पहिलो दिन प्रशिक्षण दिएका छन् ।

तालिममा ४५ भन्दा बढी प्रशिक्षार्थी सहभागी भएको महासंघ जिल्ला सचिव मेनुका श्रेष्ठले बताइन् । तालिमले स्थानीय पत्रकारिताको स्तर उन्नयन गर्न र पेशागत संकटको समाधानमा टेवा पुग्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदी, मेयर खनाल, जिल्ला प्रहरी प्रमुख एमव् प्रहरी नायव उपरिक्षक मदन केसी, सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगाका प्रमुख प्रनाउ भावतकुमार गौतम, प्रशिक्षकहरु, महासंघ जिल्ला शाखाका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी र प्रशिक्षार्थी लगायतको सहभागिता थियो ।