ओखलढुंगा कारागारमा पुस्तकालय स्थापना

ओखलढुंगा कारागारमा पुस्तकालय स्थापना

प्रहरी कार्यालयमा पनि पुस्तकालय



जिल्ला कारागार ओखलढुंगामा पुस्तकालय स्थापना भएको छ । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्ययनका लागि पुस्तकालय स्थापना गरिएको हो ।

स्थायी घर ओखलढुंगा भई हाल बेलायत बस्दै आएका नेपाल प्रहरीका पुर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठको पहलमा पुस्तकालय स्थापना गरिएको छ ।

पुस्तक अध्ययनबाट कैदीबन्दीहरुमा सकारात्मक ज्ञान हासिल होस र समाजमा पुनस्र्थापना हुँदा सकरात्मक सोंचको विकास होस भन्ने उद्वेश्यले आफुले कारागारमा पुस्तकालय स्थापना गर्न सहयोग गरेको श्रेष्ठले बताए ।

आइतबार एक कार्यक्रमका बिच पुर्व प्रनाउ श्रेष्ठको प्रमुख आतिथ्यतामा पुस्तकालयको उद्घाटन गरिएको छ । पुस्तालयका लागि श्रेष्ठले नै पुस्तक राख्ने फर्निचर र तत्काललाई ७० बढी पुस्तक संकलन गरेर कारागारलाई हस्तातरण गरेका छन् । केहि दिनमै थप पुस्तकहरु पनि प्रदान गर्ने उनले बताए ।

आगामी दिनमा अन्य पुस्तकहरु पनि संकलन गरेर पुस्तकालयमा राखिने कारागार कार्यालय ओखलढुंगाका निमित्त जेलर नरेन्द्रलाल कर्णले बताए ।

आइतबार नै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पनि नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको छ । पुर्व प्रनाउ श्रेष्ठकै सहयोगमा स्थापना भएकोे पुस्तकालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

पुस्तकालयमा कानुन सम्बन्धिका पुस्तकहरु, प्रहरी परीक्षा तयारीका पुस्तक, नैतिक शिक्षा दिने पुस्तक लगायत विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध जस्ता पुस्तकहरू राखिएको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी कर्मचारीलाई अध्ययनशील हुन पुर्व प्रनाउ श्रेष्ठले आग्रह गरे । पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने श्रेष्ठलाई धन्यवाद दिँदै आगामी दिनमा थप पुस्तकहरु संकलन गर्ने जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक केसीले बताए ।

पुस्तकालय उद्घाटन् कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, पुर्व प्रनाउ श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख प्रनाउ दिपक बहादुर केसी र पक्रकार लगायतको सहभागिता थियो ।