ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले दाताको सहयोगमा पुरानो एम्बुलेन्स मर्मत गरेर शव वहान बनाएको छ । बिग्रिएर थन्काएको पुरानो एम्बुलेन्सलाई मर्मत गर्न दाताको सहयोग लिएर पालिकाले शव वहान सञ्चालन गरेको हो ।
गाउँपालिका गठन भएपछि अघिल्लो कार्यकालमा खरिद गरिएको एम्बुलेन्स बिग्रीएर नचल्ने अवस्थामा पुगेपछि लामो समयदेखि थन्काएर राखिएको थियो । उक्त सवारी मर्मत गरेर शव वहान बनाउने स्रोत जुटाउन गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पहल थालेका थिए ।
शव वहान सञ्चालनका लागि सहयोग जुटाउन पालिका अध्यक्ष शेर्पा वेल्जियम र जर्मनसम्म पुगेका थिए ।
शेर्पा समाज वेल्जियम र जर्मनको निमन्त्रणामा राष्ट्रिय स्तरका गायक समेत रहेका गाउँपालिका अध्यक्ष शेर्पाले यसवर्षको ल्होसार विशेष कार्यक्रममा त्यहाँ पुगेर गीत गाउँदै खिजीदेम्बाका लागि शव वहान सञ्चालनमा सहयोग गर्न अपिल गरेका थिए ।
अध्यक्ष शेर्पाको माग अनुसार शेर्पा समाज वेल्जियम र जर्मनले खिजीदेम्बालाई शव वहान सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएका छन् ।
दाताको सहयोग प्राप्त भएपछि ९ लाख १३ हजार खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरेर शव वहान तयार गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार सवारी मर्मत गर्ने ग्यारेजले समेत ६३ हजार रकम छुट दिएको छ ।
शेर्पा समाज वेल्जियम र जर्मनले दिएको आर्थिक सहयोगले खिजीदेम्बालाई शव वाहन सञ्चालनमा ल्याइएको र यसले यसक्षेत्रका नागरिकलाई राहत मिलेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाले दातालाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिएका छन् ।
शव वहान सञ्चालनमा सहयोग गर्ने शेर्पा समाज वेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक पार्क निर्माणमा समेत सहयोग गर्ने भएको छ ।
यसअघि शव वहान नहुँदा पोष्टमार्टम गर्नुपर्ने शव ट्याक्टर रिजर्भ गरेर मृतकका आफन्तले महंगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो । जुन सुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महंगो रकम लिने गरेको थियो ।
शव वहान सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो ।
जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा ५ वटा एम्बुलेन्स सञ्चालमा छन् ।

प्रतिक्रिया