ओखलढुंगामा ७९ नयाँ उद्योग थपिए

भिजन समाचार
76
Shares

ओखलढुंगामा चालु आर्थिक बर्षको साउन देखि हालसम्म ७९ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा चालु आर्थिक बर्षको १० महिनामा ७९ नयाँ उद्योग दर्ता भएका हुन् ।

दुई वटा उत्पादनमूलक, ४३ कृषिमूलक, १४ वटा पर्यटनमूलक र २० सेवामूलक उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी सूचना अधिकारी रविना राईले जानकारी दिइन् ।

चालु आवको सोही अवधिमा स्थानीय वाणिज्य सम्बन्धि ४२ वटा दर्ता भएका छन् । यस अवधिमा २६१ ओटा उद्योग नविकरण र  वाणिज्य तर्फ २२७ नविकरण भएका छन् ।

जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको संख्या दुई हजार ३२० पुगेको छन् भने वाणिज्य दर्ता संख्या एक हजार ५८७ रहेका छन् ।

कार्यालयले चालु आवको उक्त अवधिमा दुई लाख ९२ हजार ९ सय राजस्व सङ्कलन गरेको छ । महिला, दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता, नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।