लैंगिक हिंसा न्यूनिकरण तथा प्रजनन् स्वास्थ्यबारे विद्यार्थीलाई अभिमुखीकरण

भिजन समाचार
50
Shares

ओखलढुंगामा लैंगिक हिंसा न्यूनिकरण तथा प्रजनन् स्वास्थ्यबारे विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ ।

संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए), मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपाल र सिद्धिचरण नगरपालिकाको समन्वय–सहकार्यमा सञ्चिालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत नगरपालिका भित्र रहेका पाँच वटा विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सिद्धिचरण नगरपालिका–१२ मा स्थित सगरमाथा जनता माध्यमिक विद्यालय, वडा नम्बर ११ मा रहेको जाल्पा मावि, सिनपा–१० को पुन्यमाता मावि, सिनपा–१ को जनचेतन मावि भोर्ले र सिनपा–३ को नारायणस्थान मावि गरि पाँच वटा विद्यालयका ३५० बढी विद्यार्थीलाई सचेत गराइएको छ ।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई लिङ्ग तथा लैंगिकता, लैंगिक भूमिका, हिंसाका प्रकार, कारण, रोकथाम, यौन हिंसा, असल छुवाई, गलत छुवाई, लैगिंक हिंसाले प्रजनन स्वास्थ्यमा पर्ने असरहरु, लैगिक हिंसा हुने स्थान र सुरक्षाका उपायहरु, बालबिबाह रोक्न किशोरकिशोरीहरुको भुमिका लगायतको बिषयमा सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक सुजता श्रेष्ठले प्रस्तुतिकरण मार्फत जानकारी गराएकी छन् ।

विद्यार्थीहरुलाई अभिमुखीकरण अघि लैंगिक हिंसा न्यूनिकरण तथा प्रजनन् स्वास्थ्यबारे के–कति जानकार छन् भन्ने बिषयमा विभिन्न प्रश्नहरु सोधेर लिखित रुपमा पुर्व–मुल्यांकन समेत गरिएको थियो ।

अभिमुखीकरण पछि पनि विद्यार्थीलाई प्रश्नहरु मार्फत मुल्यांकन गरिएको थियो । अभिमुखीकरण पछि विद्यार्थीहरुले अधिकांश प्रश्नको जवाफ सहि मिलाएका थिए ।

विद्यार्थीहरुलाई सचेत गराउँदा उनीहरु आफै पनि सचेत हुने र उनीहरु मार्फत परिवार तथा समुदायमा जनचेतना पुग्ने भएकाले विद्यार्थी केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिएको सिपिएस डब्ल्यु संयोजक श्रेष्ठको भनाई छ ।

समुदायमा बढ्दो हिंसा न्यूनिकरण गर्ने, विद्यार्थीलाई असल र गलत छुवाईको बारेमा जानकारी गराई हिंसाबाट बचाउने, हिंसाको प्रतिकार गर्ने, आफु वा समुदायका व्यक्ति लैंगिक हिंसामा परेमा उजुरी गर्ने वा सेवा प्रदायक ठाउँहरुको बिषयमा जानकारी दिने उद्वेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

लैँगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना सन् २०१६ बाट ओखलढुंगाका चार वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ । परियोजना लागु भएका सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँपालिका र मानेभन्ज्याङ गाउँपालिकाको १७ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ भने केहीमा सम्पन्न भइसकेको छ ।