ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा हाइड्रोको सामान चोरी गर्ने तीन जना पक्राउ परेका छन् । जेठ २७ गते राति खिजीदेम्बा गाउँपालिका–७ को निर्माणाधिन एफोलो हाइड्रो पावर प्रा.लि. अन्तर्गतको प्रिसाईज हाईड्रो इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि. को क्याम्पको कम्पाउण्डमा राखिएको सामान चोरी गर्ने एक जना नाबालक सहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा खिजीदेम्बा गाउँपालिका–८ का २६ बर्षीय बिमल कार्की, १८ बर्षीय सुरज बि.क. र एक जना नाबालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार उनीहरुले वेल्डिङ लिड, ड्रिल मेशिन, ग्रिन्डर मेशिन र तार गरि चार लाख २६ हजार ९०० बराबरको सामान चोरी गरेका छन् ।
चोरीका सामान सहित उनीहरुलाई बिहीबार घरैबाट पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत ओखलढुंगाबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया