यातायात कार्यालय मार्फत तीन करोड बढी राजश्व संकलन

भिजन समाचार
38
Shares

यातायातमा व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारले तीन करोड बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि बैशाखसम्म कार्यालयले तीन करोड २४ लाख  ६३ हजार ९९४ रुपैयाँ राजश्व संकलन गरेको हो । कार्यालयले यस अवधिमा सवारी साधन कर वापत सबैभन्दा बढी दुई करोड ६७ लाख ५१ हजार २४९ रुपैया राजश्व संकलन गरेको कार्यालय प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

यस्तै सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ५३ लाख आठ हजार ५३०, यातायात्र क्षेत्रको आम्दानी तीन लाख ५९ हजार २४५ र व्यवसाय दस्तुर रजिष्ट्रेशन वापत ४४ हजार ९५० रुपैया राजश्व संकलन भएको आचार्यले बताए ।

यस अवधिमा एक हजार ५८८ जनाले नयाँ सवारी चालक अनुमति पत्र र ६२४ जनाले वर्ग थप सवारी चालक अनुमति पत्रका लागि गरि दुई हजार २१२ ले आवेदन दिएका छन् ।

जसमा ५९८ नयाँ सवारी चालक अनुमति पत्र र २४७ जनालाई वर्ग थप सवारी चालक अनुमति पत्र गरि जग्गा ८४५ जनालाई सवारी चालक अनुमति पत्र प्रदान गरिएको कार्यालयले जनाएको छ । यस्तै ३४१ वटा सवारी चालक अनुमति पत्र नविकरण गरिएको छ ।

कार्यालयबाट सवारी दर्ता, नविकरण, चालक अनुमतीपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकले यस कार्यालय बाट सेवा लिने गरेका छन् ।

यसैबिच जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा पटके सेवा, ब्ल्यु बुक नविकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरि सम्पर्क कार्यालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।