ओखलढुंगामा मानसिक दुर्व्यबहारका घटनाको संख्या उच्च छ । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले सार्वजनिक गरेको दश महिनाको तथ्याङ्क अनुसार १८८ वटा मानसिक दुर्व्यबहारका घटना भएका छन् । ३३६ वटा लैङ्गिक हिंसाका घटना भए मध्ये सबै भन्दा बढी १८८ वटा मानसिक दुर्व्यबहारका घटना घटेका हुन् ।
जिल्ला अस्पतालका डा. अनिल आचार्यले सार्वजनिक गरेको (ओसीएमसी)को गतिविधि, कार्यसम्पादन र सेवाको तथ्यांक प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार शारिरीक दुर्व्यबहारका घटना ९८, स्रोत साधन र अवसरबाट बञ्चित गराएको २२, बलात्कार १७, यौनजन्य दुर्व्यबहारका सात वटा र रुढीवादी परम्पराका आधारमा भेदभावका चार वटा घटना भएका छन् ।
लैंगिक हिंसा न्यूनिकरणको क्षेत्रमा काम गर्ने संस्थालाई आर्थिक हिसाबले सवल बनाउन सबै पालिका र सरोकारवाला जुट्नुपर्ने जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले बताए ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले ओसीएमसी, सिएमसी नेपाल र युएनएफपीएले लैंगिक हिंसा रोकथाम तथा न्यूनिकरणका लागि महत्वपुर्ण भूमिका खेलेकोबारे चर्चा गर्दै नगरपालिकाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
अन्य पालिकाका प्रमुख, उपप्रमुखले पनि पालिकाले आर्थिक–नैतिक सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया