ओखलढुंगामा माटो तथा मानव स्वास्थ्यका लागि हानिकारक हुने रासायनिक मल र विषादीको प्रयोग नियन्त्रणबारे जनचेतना जगाइएको छ । ओखलढुंगा सहित तराई, मधेस र मध्यपहाडी क्षेत्रका २४ जिल्लामा सञ्चालित एक महिने जैविक कृषि जागरण अभियान अन्तर्गत सरोकारवालालाई सचेत गराइएको हो ।
गत वैशाख ९ गतेदेखि सुरु भएको अभियानको सिलसिलामा ओखलढुंगामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कृषिका लागि खाद्य अभियानले कृषिमा रासायनिक मल तथा विषादी प्रयोग घटाउने उद्देश्यले उक्त जागरण अभियान सञ्चालन गरिएको हो ।
अभियानका संयोजक उद्धव अधिकारीका अनुसार, स्थानीय उत्पादन बढ्न नसकेको र प्रशोधित, अल्पपोषक आयातित खाद्य वस्तुमा निर्भरता बढेको अवस्थामा जनस्वास्थ्य र कृषि प्रणालीमा नकरात्मक असर परिरहेकोले सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकारदेखि संघीय सरकारसम्मका सरोकारवाला व्यक्ति र संस्थालाई जैविक कृषि प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ । अभियन्ताहरुका अनुसार, नेपालको कृषि प्रणालीलाई स्थानीय, प्राकृतिक र जैविक विविधताको आधारमा पुनर्जीवित गर्दै सामूहिक दृष्टिकोण निर्माण गर्नु अभियानको मुख्य राखिएको छ ।
कार्यक्रममा हालको कृषि प्रणाली, खाद्य आत्मनिर्भरताको चुनौती र वातावरणीय संकटलाई मुख्य सरोकारका रूपमा उठाइएको थियो । सहभागीहरुले औद्योगिक कृषि प्रणालीले वातावरण, किसानको जीवनस्तर र उपभोक्ताको स्वास्थ्यमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधानका रूपमा जैविक कृषि अपनाउन जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिका बानिया, जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दल, कृषक लगायत सरोकारवालाको सहभागिता थियो ।
सहभागीहरूले जिल्लामा जैविक कृषि प्रवद्र्धन गर्दै रासायनिक मल तथा विषादी प्रयोग नियन्त्रणमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया