जिल्ला खेलकुद महासंघ ओखलढुंगाको अध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघको पहिलो जिल्ला भेलाले राईको अध्यक्षतामा १३ सदस्यी नयाँ जिल्ला कमिटी चयन गरेको हो ।

भेलाले महासंघको जिल्ला उपाध्यक्षमा अभिराज सुनुवार, सचिवमा नानी बहादुर तामाङ र उप–सचिवमा गोपाल विक र भाइकाजी तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामले निर्वाचित कमिटिलाई बधाई दिँदै कार्यकाललाई चलायमान बनाई खेलकुदको क्षेत्रमा सिर्जनात्मक काम गर्न आग्रह गरेका छन् ।
यस्तै फरक प्रसंगमा उनले पछिल्लो समय सरकारले गरेका कामलाई ओझेलमा पार्न विपक्षीहरुले विभिन्न अफवाह फैलाउने काम गरिरहेकाले नेता र नेतृत्वको विरुद्धका गतिविधिलाई निस्तेज पार्न एमालेका युवा संगठनहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य उमेश कार्की, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष कमलप्रसाद न्यौपाने, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य थलु राजभण्डारीलगायतका नेताले महासंघको नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गर्दै खेल, खेलकुद र खेलाडीको समग्र विकासका लागि चलायमान हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया